रजिष्ट्रारको भनाई

 

कम्पनी रजिष्ट्रारको कार्यालयमा यहाँलाई स्वागत छ !
विक्रम सम्वत २०४९ सालमा स्थापित यस कार्यालय स्थापनको तीस बर्ष पुग्न लागेको छ । त्यसपूर्व कम्पनी दर्ता तथा प्रशासनको काम उद्योग विभागबाट हुदै आएको देखिन्छ । नेपालमा २०४६ सालमा भएको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा गठन भएको उच्चस्तरीय प्रशासन सुधार आयोग, आठौं योजना जस्ता नीतिगत दस्तावेजले खुला तथा उदारवादी अर्थ व्यवस्थाको अवलम्बन गरेको, यसको कारणले देशमा निजी लगानीको वातावरण तैयार हुने र यी सबै प्रकृयालाई सहजिकरण गर्न कम्पनीको दर्ता तथा कम्पनी खारेजी सम्मका कार्यमा सहजिकरणको लागि अलग्गै निकायको आवश्यकता महशूस गरी यो कार्यालयको स्थापना भएको देखिन्छ।
कम्पनी ऐन, २०५३, कम्पनी अध्यादेश, २०६२ र पछिल्लो समयमा कम्पनी ऐन, २०६३ बाट नेपालको कम्पनी प्रशासनको काम भै रहेको छ र विभागस्तरीय यो कार्यालयले सोही कानुनहरुको कार्यान्वयन गरी रहेको अवस्था छ । कम्पनी प्रशासनमा सहजताको लागि ऐनको दिएको अधिकार प्रयोग गरी कम्पनी निर्देशिका र अन्य केही निर्देशिकाहरु समेत जारी गरिएको छ । यसको अलावा, दामासाही सम्बन्धी ऐन, २०६३ कार्यान्वयन गर्ने प्रयोजनको लागि यस कार्यालयलाई नेपाल सरकारकाले दामासाही प्रशासन कार्यालयको रुपमा समेत तोकेको छ।
मूलतः कम्पनी दर्ता र प्रशासनको अलावा कम्पनी खारेजी र दामासहीको समेत काम गर्नु पर्ने भएकोले व्यवसायीक रुपमा बजारमा प्रवेश गर्ने तथा त्यहाँबाट निस्कने दुवै प्रयोजनको लागि यो कार्यालयमा पुग्नु पर्ने अवस्था छ ।
यस कार्यालयका विभिन्न पद र सेवा समूहका गरी करिव ५५ जना कर्मचारी कार्यरत छन् । कर्मचारीहरुलाई विभिन्न शाखा उपशाखामा विन्यास गरी कार्य सम्पादन गर्ने गरिएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको यस कार्यालयका पूर्वी नेपालको इटहरी तथा पश्चिममा वुटवलमा गरी २ वटा शाखा कार्यालयहरु समेत रहेका छन् ।
कार्यालयले OCR Live र OCR Online गरी एकआपसरमा आवद्ध २ वटा सफ्टवयरहरु प्रयोगमा ल्याएको छ । कम्पनी दर्ता तथा प्रशासनको अधिकांश काम अनलाइनबाटै सम्पन्न हुन्छ तर कागजातको अन्तिम स्वीकृतिको लागि कम्पनीको प्रनिनिधि कार्यालयमा उपस्थित हुनु पर्ने कार्य प्रणाली रहेको छ ।
कम्पनी दर्ता तथा प्रशासनको लागि सहजिकरण गर्न विभिन्न दिग्दर्शन तथा भिडियोहरु तैयार गरी वेवसाइट तथा युट्यूवमा राखिएको छ । नेपालको कम्पनी कानुनको जानकारी दिने प्रकृतिका समाग्रीहरु पनि अनलाइन स्रोतहरुमा उपलब्ध छन् । उक्त सूचना तथा जानकारीबाट लाभ लिनुहुन समेत म सम्बन्धित सबैमा अनुरोध गर्दछु।
चालु आर्थिक बर्ष ०७९।८० को पहिलो छ महिना अर्थात पुष मसान्त सम्म कम्पनी अध्यावधिक गर्दा लाग्ने जरिवानामा नेपाल सरकारले ९५ प्रतिशत छुट दिएको कारणले, लामो समय देखी निस्कृय रहेका वा बन्न गर्नु उचित हुने प्रकारका कम्पनीहरुले सो छुटको लाभ उठाउनु हुन समेत अनुरोध छ ।

 


 सूचनाहरु सबै हेर्नुहोस

  • 455 2080-5-7 14:57:48